काठमाडौं । यौनजन्य कसुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरासतमा छन् । सन्दीपले आफूमाथि लागेको आरोपका विषयमा आफ्ना कानून व्यवसायीलाई सुरुवाती ब्रिफिङ गरेका छन् । सन्दीपको तर्फबाट बहस गर्ने तयारीमा रहेका कानून व्यवसायी सरोज घिमिरेले हिजो उनलाई दोस्रो पटक हिरासतमा भेटेका थिए ।
घिमिरेका अनुसार किशोरीकै प्रस्तावमा आफूले उनलाई भेटेको सन्दीपको भनाइ छ । उनले नै भेट्ने चाहना व्यक्त गरेपछि म गएको हुँ, जबरजस्ती होटलमा लगेको कुरा झुट्टो हो,’ सन्दीपको भनाइ उद्धृत गर्दै घिमिरेले भने । सन्दीपले अहिलेसम्म कुनै सवुत प्रमाण भने उपलब्ध गराएका छैनन् । सन्दीपको मोबाइल फोन प्रहरीको नियन्त्रणमा छ ।
घिमिरेले भोलिबाट आफूहरूले आन्तरिक रूपमा अध्ययन अनुसन्धान सुरु गर्ने जानकारी दिए ।सन्दीप गत बिहीबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएपछि उनीमाथि प्रहरी अनुसन्धान जारी छ ।