काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो ।
पहिलो संविधान सभामा रोल्पा र काठमाडौं-१० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठनुभएको थियो । उहाँले काठमाडौं-१० मा हार्दा सिराहामा मुस्किलले जित्नुभएको थियो । प्रचण्ड २०७४ मा चितवन-३ बाट निर्वाचित हुनुभएको थियो ।
यो पटक पनि उहाँ यही क्षेत्रबाट उठ्न चाहेको भए पनि सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि प्रचण्डविरुद्ध एमाले र राप्रपाको गठबन्धनका कारण उहाँले निर्वाचन क्षेत्र परिर्वतन गर्नुभएको हो ।
गोरखा-२ बाट अघिल्लो पटक डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको थियो । हाल भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको छ भने भट्टराई आफैं यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।