काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन् ।
दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने समेत बताए ।
दसैंको शुभकामना सन्देशमा सभामुख सापकोटाले भने , “मौलिकता र विविधता नेपालीको मूल विशेषता रहेको छ । दसैँ, तिहार, छठलगायतका चाडपर्व सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन् ।” उनले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । डेङ्गु सङ्क्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गर्नुभएको छ ।