काठमाडौं – दुई नेपाली चलचित्र ‘राधा’ र ‘प्रकाश’ आज (शुक्रबार) देखि प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रमा उद्योगले ठूलो अपेक्षा राखेको छ । बुधबार र बिहीबार पालैपालो प्रिमियर गरेका दुवै चलचित्रले राम्रो प्रतिक्रिया पाएका छन् ।
‘प्रकाश’ मा अभिनेता प्रदीपक खड्का शीर्ष भूमिकामा छन् । व्यावसायिक चलचित्रमा अभिनय गरिरहेका प्रदीप यो चलचित्रमार्फत चरित्र अभिनयमा होमिएका छन् । फिल्मको प्रचार निकै आक्रामक देखिएको छ ।
यता ‘राधा’ को शीर्ष भूमिकामा पूर्व मिस नेपाल समेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ देखिँदै छन् । श्रृष्टिसँगै यो फिल्ममा स्टार कलाकारको ठूलो भिड देख्न सकिन्छ। ‘राधा’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्धि तामाङलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
प्रकाशमा प्रदीपका साथमा दिया मास्के र डेब्यु कलाकार रेणु योगी शीर्ष भूमिकामा छन् । उद्योगले अपेक्षा गरेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएकोप्रति धेरैले चिन्ता व्यक्त गरेका छन् । अपेक्षित दुई फिल्म एकै दिन रिलिज हुँदा दुवै फिल्मले बक्स अफिसमा अपेक्षित ‘शो’ पाएका छैनन् । यी दुई फिल्मको ‘शो’ खुम्च्याउनुमा बलिउड फिल्म ‘लाइगर’ले पनि भूमिका खेलेको छ ।