बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौँको कोटेश्वरमा एक सार्वजनिक सवारीमा तोडफोड गरेका छन् । ४ दलिय मोर्चाले आह्वान गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेका हुन् । कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।
त्यस्तै, काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ । बन्दकर्ताले आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा तोडफोड गरेको हो । मोटरसाइकमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् । ‘कसले तोडफोड गरेको भन्ने खुलिसकेको छैन । बन्दकर्ताले नै हो कि अरु कसैले हो भन्ने कुरा अहिलेनै थाहा पाइसकेको छैनौं’, ती कर्मचारीले भने । प्रहरीलाई खबर गरेको कलेज प्रशासनले बताएको छ ।
काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार पार्टीले बन्द आह्वान गरेका छन् । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीका विभिन्न बृतहरुमा राखिएको छ ।