काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो ।
थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।यसै बिच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलाई ६ बुँदे ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार समाजिक सञ्जालमार्फत उनले देशभरका सरकारी तथा निजी सबै अस्पतालसँग भएको उपचार क्षमताको आँकलन गर्ने र अस्पतालका सञ्चालक तथा डाक्टरहरुसँग सहकार्य गरी ७० प्रतिशत कोभिड उपचारको लागि छुट्ट्याउन सुझाव दिएका छन् ।यस्तै, अक्सिजन प्लान्टहरु सञ्चालन गर्ने, सञ्चालन नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न उनको सुझाव छ ।
महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि सरकारले सबै जिल्ला अस्पतालमा पठाउने, सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजनसहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउन उनको माग छ ।देशभर उपलब्ध डाक्टरहरुले संख्या यकिन गरी कर्णाली, सुदूरपश्चिम प्रदेशजस्ता दुर्गम क्षेत्रसहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्न सुझाव दिएका छन् ।
यस्तै, आईसीयू, अक्सिजन प्लान्टलगायत हवाईमार्गमार्फत तत्काल ल्याई महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउन सरकारलाई सझाव दिएका छन् ।महामारीको जोखिम मोली काम गर्ने डाक्टरलगायत सबैका लागि सय प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनुपर्ने उनको माग छ ।
उपचारका लागि आईसीयू, अक्सिजन र कतिपय स्थानमा डाक्टरसमेतको अभाव भई उपचारमा गम्भीर समस्या पैदा भइरहेको उनले उल्लेख गरेका छन् ।शर्माले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरुलाई सक्रिय बनाउन आवश्यक रहेको औँल्याएका छन् । उनले आफ्ना सुझाव तत्काल कार्यान्वयनको माग पनि गरेका छन् ।