काठमाडौं। एप्पल कम्पनीले आइफोनको नयाँ मोडल बजारमा ल्याएसँगै इन्टरनेटमा विभिन्न मीमहरु चर्चामा आउँछन् । यीमध्येको एउटा मजाक हो आइफोन किन्नको लागि हामीले आफ्नो मृगौला बेच्ने कुरा । तर, के तपाइँलाई थाहा छ ? १७ वर्षका एक किशोरले यो मजाकलाई साँच्चिकै वास्तविकतामा रुपान्तरण गरिदिए । उनले आइफोन किन्नका लागि वास्तवमै आफ्नो मृगौला बेचे ।
लाइफस्टाइल म्यागजिन भाइसको रिपोर्टअनुसार वांग शांगुन नामका एक किशोरले आइफोन किन्नको लागि साँच्चिकै आफ्नो एउटा मृगौला बेचेका थिए । चीनका यी किशोरले २०११ मा मृगौला बेचेका थिए जतिबेला उनी १७ वर्षका थिए । त्यतिबेला उनले आइफोन ४ र आइप्याड २ किन्नको लागि आफ्नो एउटा मृगौला ३ हजार २७३ डलरमा बेचेका थिए । चीनको अनहुइ प्रान्तका वांग अहिले २५ वर्षका भए । र, अहिले उनका लागि ११ वर्षअघि गरेको त्यो गल्तीले निकै भयानक परिणाम लिएर आएको छ ।
त्यतिबेला वांग शांगुनले भनेका थिए ‘मलाई २ वटा मृगौला किन चाहियो ? एउटा भए पुगिहाल्छ ।’ उनी एप्पलका ग्याजेट किन्न अत्यन्तै लालायित हुन्थे त्यसैले उनले अनलाइन अवैध बजारबाट एक अंग तस्करसँग कुरा गरेका थिए । अनलाइन च्याटको क्रममा ती तस्करले वांगलाई उनले अंग बेचेर ३ हजार डलर कमाउन सक्ने बताएका थिए । यो कुराकानी लगत्तै १७ वर्षका वांगले आफ्नो दाहिने मृगौला बेच्नको लागि हुनान प्रान्तमा अवैध रुपमा अवैध अपरेशन गराए ।
रिपोर्टका अनुसार अपरेशनको केही समयपछि नै अस्वस्थ अपरेशन गर्ने स्थान र अपरेशनपछि गरिनुपर्ने स्वाहारको कमीका कारण उनलाई संक्रमण भयो । स्थििति बिग्रिँदै जाँदा उनलाई नियमित डायलासिस गराउनुपर्ने भयो । अहिले २५ वर्षको उमेरमा वांग डायलासिस मेसिनसँगै बाँच्नुपर्ने भएको छ । र, सम्भवतः उनी रेनल डिफिसेन्सीका कारण जीवनभर ओच्छ्यानमै हुन पनि सक्छन् । डाक्टरहरुका अनुसार अब स्वस्थ हुन वांगले आफ्नै लागि मृगौला प्रत्यारोपण गराउनुपर्छ । अवैध बजारमा मृगौलाको मूल्य वांगले आफ्नो मृगौला बेचेको मूल्य भन्दा ८० गुणा बढी पर्ने बताइएको छ ।