न्यूयोर्क । न्युयोर्कको क्वीन्स उडसाईडमा रेलको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भई न्युयोर्कमै बस्दै आएकी पारू श्रेष्ठको निधन भएको हो।
लङ आइल्याण्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा श्रेष्ठको निधन भएको हो। उनलाई जिनाको नामले चिनिदै आएको थियो।
कामबाट फर्केपछि उनी राती ११ बजेतिर घरबाट निस्केको जनाईएको छ। त्यसको भोलिपल्ट विहान ट्रेनको ठक्करबाट निधन भएको हो। त्यतिबेला न्युयोर्कमा लगातार पानी परिरहेको थियो।
एमटीए प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। तर प्रहरीले यो घटना कुनै आपराधिक घटनासँग सम्बन्धित भएको आशंका भने गरेको छैन। उनको दाहसंस्कार आगामी शनिवार गरिने जनाईएको छ।