काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा व्यापारीहरुले यसअघि २५ रुपैंया रहेको जारको मूल्य एकाएक बढाएर ५० रुपैंया सम्म पुर्याएका छन्।
एक हप्ता अघि उपभोक्ताले प्रतिजार २५ रुपैयाँसम्ममा उपभोग गर्दै आएको जारको पानीको मूल्य एकाएक बढेको हो।
बुधबारसम्म प्रतिजारको २५ रुपैंयामा खरिद गर्दै आएका उपभोक्ता एकाएक मूल्य बढेपछि मारमा परेका छन्।
यसरी मूल्य वृद्धि हुनुमा सरकारकै मिलेमतो रहेको बताइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भदौ १० देखि लागू हुने गरी जारको मूल्य अधिकतम ५० रुपैयाँ तोक्ने निर्णय गरेसँगै संसदीय समितिले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
विभागले पनि संसदीय समितिको निर्देशनको पालना गर्दै निर्णय स्थगन गरेको छ। तर बजारमा व्यवसायीले वाणिज्यको निर्णय भन्दै धमाधम मूल्य बढाएका छन्।
विभागको सोही निर्णयलाई देखाउँदै व्यापारीले मूल्य बढाएका हुन।