काठमाडौँ : चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ ।
भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन् । उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी रहेको बताए ।
नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्र बजारको अवलोकनमा जाने र सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।