चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उहाँले जानकारी दिनुभयो ।
पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।