एजेन्सी । रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको दाबी गरेको छ ।खोपको परीक्षणमा सफलता हासिल भएको दाबी गर्दै रुसले विश्वकै पहिलो खोपका रुपमा दर्ता गर्ने प्रक्रिया समेत सुरु भएको उल्लेख गरेको छ । राष्ट्रपति भ्यादिमिर पुटिनले रुसी स्वास्थ्य मन्त्रालयले सो खोपलाई आजै संसारकै पहिलो कोरोना विरुद्धको खोपको मान्यता समेत प्रदान गरेको बताएका छन् ।
मस्कोमा सरकारका मन्त्रीहरुलाई खोपबारे जानकारी गराउँदै पुटिनले आफ्नै छोरोमा समेत खोप प्रयोग गरिसकेको बताए । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रियामा गएको पुटिनको भनाई थियो । रुसी वैज्ञानिकहरूले पनि यसअघि नै सो खोपको प्रारम्भिक परीक्षण सफलतापूर्वक पूरा गरिसकेको दाबी गरेका थिए । ‘भेक्टर भ्याक्सिन’ नाम दिइएको सो खोपले डीएनए इनकोडिङमार्फत आवश्यक प्रतिरक्षा कोषिका उत्पादन गरी उपचारमा सहयोग गर्ने जनाइएको छ । खोप मानव स्वास्थ्यका लागि सुरक्षित रहेको र कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकासमा मद्दत पुगेको राष्ट्रपति पुटिनको भनाई छ ।
यद्यपी केही विज्ञहरुले भने यो खोपबारे प्रश्न पनि उठाएका छन् । बीबीसीका अनुसार यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनिएका ६ वटा भ्याक्सिनको सूचीमा पनि यो खोप परेको छैन ।यसअघि गत असारको अन्तिममा रुसको सेचनोव विश्वविद्यालयले कोभिड–१९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको थियो ।