पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। ।
पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
भदौ ७ गते मात्र पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।
मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए।
उनको उपचारका क्रममा उनको आज विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ।
पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सातजना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। हालसम्म गण्डकी प्रदेशमा १२ जना कोरोना सङ्क्रमित मृत्यु भएको छ।
त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ सङ्क्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का २१, लमजुङ छ तथा कास्कीमा एकजना छन् ।
लमजुङका सङ्क्रमित प्रहरीमा कार्यरत रहेको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ।