काठमाडौं / काठमाडौं उपत्यकामा १ सय ६६ जनासहित नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार २ सय ६२ पुगेको छ ।