काठमाडौं। आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज। आजको दिन पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरूमा रातो साडीमा सजिएका महिलाहरूको भीड हुने गथ्र्यो।तर, कोरोना भाइरसको कहरका कारण भीड नै नियन्त्रण गर्न हम्मेहम्मे पर्ने पशुपतिनाथ मन्दिर आज सुनसान बनेको छ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन हो।
सरकारले धार्मिक स्थलहरूमा भिडभाडलाई प्रतिबन्ध गरेको छ। यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरू सुनसान बनेका छन्।कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले एक हप्ता लामो निषेधाज्ञा लगाएको हो। निषेधाज्ञालाई प्रभावकारी बनाउन ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरू सडकमा परिचालन गरिएका छन्।
निषेधाज्ञाको पहिलो दिन बिहीबार सयौँ सवारी साधन कारवाहीमा परेका थिए भने सयौँ पैदलयात्रुलाई समेत कारवाही गरिएको थियो। प्रशासनले निषेधाज्ञामा कडाई गरेपछि आज बिहीबारको तुलनामा पनि कम सवारीसाधनहरू चलेका छन्।