बर्दिया: अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च बेहोरेर नेपालगन्ज लैजान नसक्दा बुधबार ज्यान गएको हो ।
गुलरियाबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ । निषेधाज्ञाले अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् । यहाँबाट नेपालगन्ज बिरामी पुर्याएबापत एम्बुलेन्सले अक्सिजनसहित २ हजार २ सय र अक्सिजनबिना २ हजार रुपैयाँ लिने गर्छ । अस्पताल परिसरकै एम्बुलेन्स चालकलाई आग्रह गरे पनि रकम नभएको बुझेपछि पुर्याउन नमानेको परिवारका सदस्यले बताए । त्यसपछि उनी अटो रिक्सामा घर फर्किएकी थिइन् । एक साताअघि पालको ६ महिनाको गर्भ खेर गएको थियो । त्यसपछि रगत बग्न थामिएको थिएन ।
तीन दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको श्रीमान् मैंकुले बताए । उनले मजदुरी गरेर गुजारा गर्दै आएका थिए । लकडाउन भएपछि काम पाएका थिएनन् । आफ्नै घर नभएकाले भाडामा बस्दै आएका छन् । ‘उनीहरू हाम्रै टोलमा भाडामा बस्छन्,’ स्थानीय अजितकुमार श्रीवास्तवले भने, ‘महिलाको अवस्था देखेपछि उपचारका लागि गाउँलेले ५ हजार रुपैयाँ संकलन गरेका थियौं ।’ तर, स्थानीयले सहयोग जुटाएकै दिन पालको मृत्यु भएको उनले बताए ।
परिवारले अस्पतालमा रगत परीक्षण गरेको दुई सय र औषधि खरिदबापतको १ हजार ९ सय ७० रुपैयाँ पनि तिर्न सकेका थिएनन् । रेफर गर्ने बेलामा चिकित्सकले उक्त खर्च निःशुल्क लेखिदिएको मैंकुले बताए । ‘एम्बुलेन्स चालकले सित्तैमा लानुपर्ने भएपछि कोरोना लागेकालाई बोक्दिनँ भने,’ बिहीबार मैंकुले कान्तिपुरसित भने, ‘त्यसपछि घर ल्याएँ ।’, याे खबर कान्तिपुर दैनिकमा छ।