काठमाडौं । सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई रोकेपछि बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न निर्देशन दिएको छ ।
हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने र बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने सहमती भएपनि सो अनुरुपको कार्य नभएको भन्दै संघले शाखा बन्द गर्न निर्देशन दिएको हो ।
उपत्यकामा गएराति १२ बजेदेखि जारी निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि बाटैमा रोकिएका छन्।
प्रहरीले उनीहरुलाई घर पनि जान दिएको छैन भने अफिस पनि छिर्न दिएको छैन।
यता ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । अहिले यस विषयमा गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए ।