२२ असार, दोहा ।कतारका दिउँसोकाे घाममा काम लगाउने १ सय ४० वटा कम्पनी कारबाहीमा परेका छन् । यहाँको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारबाहीमा परेका हुन् ।
मन्त्रालयले पहिलो चरणमा गरेकाे जुन १५ देखि १८ सम्मकाे निरीक्षणमा ५६ वटा कम्पनी कारबाहीमा परेका थिए । त्यसैगरि जुन १८ देखि जुलाई २ तारिखसम्म निरीक्षण थप ८४ वटा कम्पनीलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
कतारको २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन ।
कारबाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।
कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।