सोमबार सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ ।घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।
असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।
क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए ।
युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।