काठमाडौं, २६ जेठ । सरकारले पछिल्ला केही दिनयता लकडाउन खुकुलो पार्दै जाने मोडालिटी तय गर्न छलफल र परामर्श गरिरहेकाे छ । यद्यपि कस्ताे बनाउने भन्नेबारे अझै निर्णयमा पुग्न सकेकाे छैन ।
आइतबार पनि लकडाउनकाे मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रीहरूबीच मध्यरातसम्म छलफल भएको स्राेतकाे भनाइ छ । तर बैठकले कुनै ठोस निर्णय लिन नसकेकाे बताइएकाे छ ।
स्राेतका अनुसार आइतबारकाे बैठकमा पाँच चरणमा गरी क्रमशः लकडाउन खुकुलो बनाउने कार्ययोजना पेश भएको थियो । यद्यपि नेपालमा बढ्दाे कोरोना संक्रमणकाे दर र भावी अवस्थाबारे विश्लेषण अपर्याप्त रहेकाे बताइयाे । यसबारे थप छलफल र विश्लेषण गरेर मात्र माेडालिटी तय गर्न सकिने बताइएकाे छ । कार्ययोजनामाथि छलफल जारी राख्ने निर्णय भएकाे छ ।
सरकारले काेराेना संक्रमण राेकथामका लागि भनेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेकाे थियाे । जसकाे पछिल्लाे अवधि यही जेठ ३२ गते सकिँदैछ ।