काठमाडौं । नेपालमा थप चार सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८८ जना महिला र तीन सय ३८ जना पुरुष गरी वितेकाे २४ घण्टामा चार सय २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै हेटाैंडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जना, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार दुई सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका ७४ जिल्लामा कोरोना फैलिसकेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा.गौतमले बताउनुभयो । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ । शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
वितेकाे २४ घण्टामा दुई सय १६ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म एक हजार चार सय दुई जना संक्रमित कोरोना मुक्त भइसकेका छन् । नेपालमा काेराेनाबाट हालसम्म २२ जनाले ज्यान गुमाएका छन् ।