काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।
यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर नै ज्यान गुमाइरहेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।
अभिनेता निखिल उप्रेती, पल शाह, राजाराम पौडेल लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् ।
यसैबीच अभिनेता पुष्प खड्काले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।
उनले आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका हुन् । उनले सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई अक्सिजन खरिद गर्न आर्थिक सहयोग गरेका हुन् ।