पोखरा । लागुऔषध बिक्री–वितरण गरेको कसूरमा दिया फार्मेसीका सञ्चालक डा ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसदसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार नियन्त्रणमा लिएको हो ।
कास्कीको पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कमा ट्रुपेन (टपान्टाडोल) नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको पाइएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका थापामगरले उक्त ट्याब्लेट श्रेष्ठ सञ्चालक रहेको पोखराको पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । उक्त ट्याब्लेट डाक्टरको प्रेस्क्रिप्सनबिना बिक्री–वितरण गर्न पाइँदैन ।
एक व्यापारीसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो । उनले सांसद पदसँगै रास्वपाको साधारण सदस्यतासमेत गुमाएका थिए ।