इलाम । दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका १ स्थित तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ । आज उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको माई नगरपालिकास्थित लक्ष्मीबाँध-पाल्टार जोड्ने माइखोलाको पक्की पुलमुनि दाहसंस्कार गरिने स्थानीयले बताएका छन् ।
श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर गत शुक्रबार नेपाल पठाएका हुन् । कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज (सोनसिक), त्यहाँस्थित इलामेली समाज र उल्सन नेपाली समाजले उनको शव यता पठाउने खर्च संकलन गर्न सहयोग गरेका थिए । शव यता पठाउन सोनसिकले सबै प्रक्रियाका लागि काम गरिदिएको थियो ।
कोरियास्थित नेपाल सम्पर्क समिति अध्यक्ष हरिप्रसाद खनालले सोनुको शव नेपाल पठाउन छ लाख ८० हजार नेपाली रुपैयाँ खर्च भएको जानकारी दिए । विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो । उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सिलसिलामा गत जेठमा मलेसियामा मृत्यु भएको थियो ।