कलकत्ता प्रहरीले डाक्टर मौमिता देबनाथको बलात्कारपछि हत्या गरेको आरोपमा सञ्जय रोय भन्ने व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्ति पहिचान गर्नका लागि उनले छोडेको ब्लुटुथयुक्त हेडफोनले महत्त्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ ।
कलकत्ताको आरजी मेडिकल कलेज एन्ड हस्पिटलमा आवासीय चिकित्सकको रूपमा कार्यरत महिला कलेजकै सेमिनार हलमा गत शुक्रबार अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् । उनी छातीसम्बन्धी औषधी विभागमा दोस्रो वर्षकी विद्यार्थी थिइन् । ड्युटीकै समयमा उनीमाथि बलत्कार र त्यसपछि हत्या भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम जनाएको छ ।
मृत अवस्थामा भेटिएकी ती चिकित्सकको आँखा र मुखबाट रगत आएको थियो । सो घटनापछि त्यहाँ प्रहरी पुगेको थियो । अस्पतालमा भएका सीसीटिभी क्यामेराको फुटेजबाट प्रहरीले शङ्कास्पद व्यक्ति पहिचान गर्यो । घटनास्थलबाट प्रमाण सङ्कलन गर्ने क्रममा प्रहरीले त्यहाँ ब्लुटुथ हेडफोन फेला पारेको थियो ।
पक्राउ परेका सञ्जय रोयको फुटेज सीसीटिभी फुटेजमा देखियो । फुटेजमा उनी शङ्कास्पद तरिकाले उक्त सेमिनार हलतिर आउने जाने गरेको देखिन्थे । पछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर उनको फोन खोजतलासी गर्न थाल्यो । त्यस क्रममा उनको फोनमा उक्त हेडफोन स्वतः कनेक्ट भयो । त्यसपछि तत्कालै प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएपछि ती व्यक्तिले आफ्नो अपराध स्वीकार गरेको बताइएको छ । उनीसँगै अरू कोही थिए वा उनी एक्लैले उक्त अपराध गरे भन्ने खुलेको छैन । प्रहरीले सो घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।