तपाईँले कस्तो पेशाा अँगाल्नुभएको छ, कति घण्टा काम गर्नुहुन्छ, कार्यस्थल कस्तो छ भन्ने कुराले पनि तपाईँको स्वास्थ्य अवस्था निर्धारण गर्छ ।कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगले सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम गर्ने, उद्योगमा काम गर्नेहरुमा पनि विभिन्न रोगको जोखिम हुन्छ ।
यस्तैमा आज हामी दिनभर सवारी साधन चलाउने चालकलाई कस्तो स्वास्थ्य समस्याहरू हुनसक्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।
– सवारी चालकहरूलाई नसा च्यापिनेदेखि मूत्र नलीको समस्यासम्म हुनसक्छ । लामो समयसम्म एउटै पोस्चरमा बसेर स्टेरिङ चलाउँदा विभिन्न स्वास्थ्य समस्या चालकमा देखिन सक्छ । गाडी चालकमा देखिने पहिलो समस्या नसा च्यापिने हो । यसको मूल कारण भनेकै खराब पोस्चर अर्थात् लामो समय एउटै पोस्चर बस्नु हो । लामो दुरीको बस वा ट्रक चलाउने चालकले लामो समयसम्म एउटै पोजिसनमा भएर गाडी चलाएका हुन्छन् । जसकारण ढाड, गर्दनको नसा च्यापिने समस्या हुन्छ । कम्मर दुख्ने, ढाड दुख्ने, हात–खुट्टा दुख्ने, खुट्टा निदाउने, झमझमाउने, लाटो हुने जस्ता समस्या सवारी चालकमा देखिन्छन् । यस्तो अवस्था लामो समय रहे बिस्तारै खुट्टा तथा ढाड चलाउन नसकिने हुनसक्छ ।
–गाडी चालकलाई जोर्नी दुख्ने समस्या पनि देखिन सक्छ । अस्वस्थकर खानपान, दिसा–पिसाब रोक्नु, धेरै बेर नखाई बस्नु, राति धेरै ढिला सुत्नु, धेरै तनाव वा चिन्ता लिनु जस्ता कारणले सवारी चालकमा जोर्नी र मांसपेशी दुख्ने समस्या हुन्छ । जसले युरिक एसिड बढाउँछ र हातखुट्टा दुख्ने, झमझम गर्ने, तातो हुने, रातो हुने समस्या हुन्छ ।
–राजमार्गमा पाइने अस्वस्थकर खानेकुरा, अव्यवस्थित जीवनशैली, लामो समयसम्म दिसा–पिसाब रोक्नुपर्ने बाध्यताका कारण सवारी चालकमा कब्जियतको समस्याले पनि सताउन सक्छ । एउटै पोजिसनमा बसेर सवारी चलाउनुपर्ने हुँदा शारीरिक व्यायामको कमी, स्वस्थ र सुपाच्य खानाको कमी, पानीको कमीले कब्जियतको समस्या हुन्छ ।
–रगतमा चिनीको मात्रा बढेपछि मधुमेह रोग लाग्छ । यो पनि सवारी चालकलाई लाग्ने बढी सम्भावना हुन्छ । तिर्खा लागेको बेला चालकले पानीको सट्टा कोल्ड ड्रिंक, जुस, सोडा जस्ता पेय पदार्थ धेरै प्रयोग गर्छन् । जसले मधुमेहको जोखिम बढाउँछ ।
–गाडी चालकमा मिर्गौलाको समस्या हुनसक्छ । शरीरमा पानीको कमी र पिसाब च्यापेर बस्ने गर्दा रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्दा मिर्गौलामा असर पुग्छ । यस्तो अवस्थामा शरीरमा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिन्छ ।
–सवारी चालकलाई लाग्न सक्ने अर्को रोग उच्च रक्तचाप पनि हो । यात्राका क्रममा स्वादको लागि नुनिलो, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी भएको खानेकुरा खानुपर्ने अवस्था आउँदा उनीहरूलाई उच्च रक्तचापको जोखिम हुन्छ ।
–कामको चाप, एउटै पोस्चरमा बसिरहनु, थकान, अनिद्रा, अस्वस्थकर खानपान, परिवारसँग टाढिनुपर्ने जस्ता कारणले सवारी चालक तनावमा रहन्छन् । जसकारण दिक्दारी हुने, नकारात्मक सोच बढी आउने, जीवनप्रति निराशा महसुस गर्ने जस्ता मानसिक समस्या उनीहरुमा देखा पर्न सक्छन् ।
–लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा ब्याक्टेरिया जम्मा भएर चालकमा मूत्रनलीमा संक्रमण हुनसक्छ । सरसफाइको कमी र शरीरमा पानीको कमीले पनि यो समस्या हुनसक्छ ।