काठमाडौँ – आज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
कुन राशिलाई कुन रङ शुभ ?
मेष: मेष राशिको स्वामी मङ्गल ग्रह हो। मेष राशिका मानिसहरूको शुभ रङ्ग रातो हुन्छ । हाल मेष राशिमा गुरु बृहस्पति छन् भने बृहस्पतिको घरमा सूर्य बुध राहु छन् । यस अवस्थामा रातो, पहेँलो, बैजनी रङ्ग राम्रो हुनेछ। रातो रङ्ग प्रेम र ऊर्जा को प्रतीक हो। मेष राशिका व्यक्तिहरूका लागि यो रङ्ग शुभ रहनेछ । यस्तो अवस्थामा यो रङ्गको साथ होली खेल्नु तपाईँको लागि राम्रो हुनेछ।
वृष: यस राशिको स्वामी शुक्र हो, त्यसैले यो राशिको लागि शुभ रङ्ग सेतो हुनेछ। शुक्र हाल मङ्गल र शनिको साथमा कुम्भ राशिमा छन् । यस राशिलाई कालो र हल्का नीलोको साथमा आज रातो रङ्ग पनि लागि राम्रो साबित हुनेछ। सेतो रङले यस राशिका व्यक्तिहरूलाई सुख शान्ति प्रदान गर्नेछ।
मिथुन: यस राशिको स्वामी बुध ग्रह हो, त्यसैले यस राशिका व्यक्तिहरूका लागि हरियो रङ्ग धेरै भाग्यशाली साबित हुनेछ। यस राशिका स्वामी बुध हाल बृहस्पतिको घरमा सूर्य र राहुको साथमा छन् । हरियोको साथमा पहेँलो र रातो पनि यस राशिलाई शुभ छ । हरियो रङले तपाईँमा सकारात्मक प्रभाव पार्छ। मिथुन राशिका लागि यो रङ्ग शुभ मानिन्छ ।
कर्कट: कर्कट राशिको स्वामी चन्द्रमा हो। चन्द्रमाले मन र भावनालाई नियन्त्रण गर्ने काम गर्छ, त्यसैले यस राशिको शुभ रङ्ग सेतो हो। हाल चन्द्रमा केतुको साथमा बुधको घरमा छन् । सेतो तथा हरियो रङ्गको साथ होली खेल्नु तपाईँको लागि धेरै लाभदायक हुनेछ।
सिंह: यस राशिको स्वामी सूर्य हो। यो ग्रहलाई सफलताको प्रतीक मानिन्छ। यस राशिका मानिसका लागि शुभ रङ्ग गाढा रातो, सुन्तला, पहेँलो र सुनौलो हुन्। हाल सूर्य बुध र राहुको साथमा वृहस्पतिको घरमा छन् । यस्तो अवस्थामा होलीको दिन रातो, सुन्तला, पहेँलो र सुनौलो तथा हरियो रङहरू प्रयोग गर्नुहोस्, यसले तपाईँलाई मानसिक आनन्द प्रदान गर्नेछ।
कन्या: कन्या राशिको शुभ रङ्ग गाढा हरियो हो। यस राशिमा चन्द्र र केतु छन् । यसका स्वामी बुध हाल बृहस्पतिको घरमा सूर्य र राहुको साथमा छन् । सेतो पनि यस राशिलाई शुभ छ । हरियो रङलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसका साथै निलो रङ्ग पनि यस्ता व्यक्तिका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा हरियो र निलो दुवै रङ्गमा होली खेल्न सकिन्छ ।
तुला: यस राशिको स्वामी शुक्र हो, त्यसैले यस राशिका लागि शुभ रङ्ग सेतो र हल्का पहेँलो हुन्छ। शुक्र हाल मङ्गल र शनिको साथमा कुम्भ राशिमा छन् । यस्तो अवस्थामा तुला राशिका व्यक्तिले पहेँलो, तथा निलो रङले होली खेल्नु राम्रो हुन्छ।
वृश्चिक: यस राशिको स्वामी मङ्गल ग्रह हो, त्यसैले यस राशिका मानिसका लागि रातो र मरुन रङ्ग निकै शुभ मानिन्छ । यो शुभ रङ्गको प्रयोग वृश्चिक राशिका लागि निकै लाभदायक साबित हुन्छ । यस रङ्गको प्रयोगले हरेक कठिन परिस्थितिबाट बाहिर आउन मद्दत गर्दछ।
धनु: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ्ग पहेँलो हो। हाल बृहस्पतिको अर्को घर मीन राशिमा सूर्य, बुध र राहु छन् । यो राशिका व्यक्तिहरूले होली खेल्दा पहेँलो रङ्गको बढी प्रयोग गर्नुपर्छ। यसबाट धनु राशिका व्यक्तिहरूलाई फाइदा हुनेछ र उनीहरूले आफ्नो मनमा सुख र शान्तिको अनुभूति गर्नेछन्।
मकर: यस राशिको स्वामी शनि हो। शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रङ्ग कालो वा गाढा नीलो हो। मकर राशिका मानिसका लागि मरुन रङ्ग पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा यसको प्रयोगले तपाई हरेक नकारात्मक ऊर्जाबाट टाढा रहन सक्नुहुन्छ ।
कुम्भ : यस राशिको स्वामी शनि हो, त्यसैले यस राशिको शुभ रङ्ग कालो वा गाढा नीलो पनि मानिन्छ। कुम्भ राशिका व्यक्तिहरूका लागि यी रङ्गहरूको प्रयोग गर्नु लाभदायक हुनेछ । यस राशिका स्वामी शनि हाल शुक्र र मङ्गल साथमा आफ्नै घर कुम्भ राशिमा छन् ।
मीन: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ्ग पहेँलो हुने भएकाले मीन राशिका मानिसहरूका लागि पहेँलो रङ्ग निकै लाभदायक हुन्छ । यो रङले तपाईँको जीवनमा शुभ ल्याउँछ र तपाईँलाई हरेक प्रकारको समस्याबाट टाढा राख्छ। हाल बृहस्पतिको अर्को घर मीन राशिमा सूर्य, बुध र राहु छन् ।