वैदेशिक रोजगारमा सर्विया पठाइएका १५ जना कामदार दुबईबाट फर्केका छन् । नक्कली भिसाको कारण उनीहरुलाई दुबई अध्यागमनले स्वदेश डिपोर्ट गरेको बताइएको छ ।
अस्ति राति १ बजे फ्लाई दुबईको उडानमा दुबई हुँदै सर्विया उडेका उनीहरुको भिसा नक्कली फेला परेको हो । १५ जना कामदारलाई अस्ति नियन्त्रणमा लिएर त्यहाँको अध्यागमन कार्यालयले दुबईको उडानमा काठमाडौं फिर्ता गरिदिएको हो ।
ती सबै हिजो राति सवा ११ बजे काठमाडौं ओर्लिएका हुन् । काठमाडौं फर्काइएकाहरुमा रोमबहादुर रोका, जितेन्द्र महतो, अमृत पाण्डे, चेतबहादुर थापा, कुशाई थापा, गहेशमान श्रेष्ठ र दिपेश पाण्डे हुन् । अन्य कामदार परिश्वर भट्टराई, टंकबहादुर बस्नेत, भूमिन्द बजगाईं, अजय श्रेष्ठ, यामबहादुर दर्लामी, रोशन गिरी, पुष्प गुरुङ र चोपलाल बेलबासे पनि हिजै फर्काएका छन् । उनीहरु सबैको राहदानी अध्यागमन कार्यालयले, अध्यागमन विभागमा पठाएको छ ।