काठमाडौं । अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो ।आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।
ताम्राकारको पार्थिव शरिरमा कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका कलाकार आर्यघाटमा उपस्थित थिए । यस्तै कलाकारहरु धीरेन शाक्य, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायत पनि आर्यघाट पुगेका थिए ।ताम्राकारको निधन ७४ वर्षको उमेरमा शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग समेत खेपेका थिए ।
अभिनेत्री नम्रता श्रेष्ठले कलाकार सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई सामाजिक सञ्जालबाट श्रद्धान्जली दिएकी छन् । सारुकको डेढ महिना अघि र सानुको हिजो निधन भएको थियो ।सारुकको निधनपछि नम्रता विवादमा तानिँदै आएकी छन् । उनी सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उनीहरुको झगडा परेको तथ्य सार्वजनिक भएको थियो । सारुकको निधनपछि नम्रताले सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेकी थिइनन् ।छोराको निधनबाट विक्षिप्त बनेका सानुको पनि हिजो निधन भयो । त्यसपछि भने नम्रताले सामाजिक सञ्जालमा बुवा छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् । सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि उनले प्रार्थना गरेकी छन् ।
उनले फेसबुकमा यस्तो लेखेका छन्:- Rest in peace बैकुण्ठ बास होस.. सम्पूर्ण परिवार मा धैर्य धारण गर्ने शक्ति मिलोस !!