काठमाडौँ — वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाही गर्नुको साटो धरौटीमा छुटाएर मुद्दा प्रभावित बनाइएको भन्दै उनकी पत्नी आरती रावल गिरी अनशनमा छिन् ।दुई महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा अनशन बसिरहेकी उनले निलम्बनमा परेका न्यायाधीशको सरकारी सेवासुविधा खारेज हुनुपर्ने, आफूलाई बकपत्रका लागि बोलाउनुपर्ने, गिरीविरुद्धका मुद्दाहरूमा शीघ्र छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्ने, पीडितलाई सरकारले जीविकोपार्जनको व्यवस्था गरिदिनुपर्ने माग राखेकी छन् । उनले बलात्कारजस्तो संगीन अभियोग लागेकालाई धरौटीमा छोडिएको भन्दै गत असार १० गते महान्यायाधिवक्ता कार्यालय परिसरमा प्रदर्शन गरेर आमरण अनशन थालेकी थिइन् ।
न्याय प्रशासन सेवा ०७३ मा ‘न्यायाधीश पदमा कार्यरतलाई भ्रष्टाचार वा खराब आचरणका कारण जिल्ला वा पुनरावेदन अदालत वा प्रचलित कानुनबमोजिम दायर भएको मितिदेखि न्यायाधीश पदबाट स्वतः निलम्बन हुने’ व्यवस्था छ । कारबाहीका लागि न्याय परिषद्मा आरतीले उजुरी दिएपछि न्यायाधीश गिरी निलम्बित भएका थिए । तर, गिरीले न्यायाधीशको हैसियतमा पाएको गाडी, ड्राइभर, भान्सेलगायतका सेवासुविधा लिइरहेको र आफ्नो पदीय रवाफ देखाउँदै आफूविरुद्धको मुद्दा कमजोर पार्न खोजेको भन्दै आरतीले साउन १० गते कपिलवस्तु जिल्ला अदालतमा निवेदन दिएकी छन् ।
‘निजविरुद्धको मुद्दा कमजोर पार्ने भूमिका खेली मुद्दामा सम्बन्धित अदालतका कर्मचारीहरूले मेरो शंकामा सूचना लुकाउने, जाहेरवालाको बकपत्र नगराउनका लागि जानकारी लुकाउने भइरहेकाले म निवेदक अन्यायमा परेको छु,’ उनले कपिलवस्तु अदालतमा बुझाएको निवेदनमा भनिएको छ । बलात्कार मुद्दाहरू दायर भएको कपिलवस्तु र काठमाडौं जिल्ला अदालत दुवैले हालसम्म बकपत्रमा नबोलाएको बताइन् । कपिलवस्तु जिल्ला अदालतका सूचना अधिकारी नारायणबहादुर भट्टराई भन्छन्, ‘बकपत्रका लागि दुई पटक बोलाएका थियौं, आउनु भएन, अब अर्को पेसी चढ्छ त्यसपछि बोलाइन्छ ।’
गिरीले लिइरहेको सेवासुविधाका विषयमा भने न्याय परिषद्मा काजमा तानिएको धेरै समय भइसकेकाले आफूलाई जानकारी नरहेको सूचना अधिकारी भट्टराईले बताए । न्याय परिषद् सचिवालयका सहसचिव मानबहादुर कार्कीले गिरी हाल निलम्बनमा रहेको र उनले खाइपाई आएको सवालमा कपिलवस्तु जिल्ला अदालत नै जानकार रहने बताए । आरतीले भने आफूलाई समयमा जानकारी नगराएकाले जान नसकेको बताइन् । काठमाडौं जिल्ला अदालतमा वैशाख १९, जेठ २२, असार ७, २०, २१ र साउन २८ गते पेसी तोकिए पनि बकपत्र तोकिएको छैन । रावल र गिरीबीच प्रेम सम्बन्धपछि ०७४ सालमा विवाह भएको थियो । त्यतिखेर गिरी बाँके जिल्ला अदालतमा स्रेस्तेदार थिए । उनी ०७९ असारमा न्यायाधीश भए । आफूलाई पहिलो पटक तीन महिनाको गर्भ जबर्जस्ती औषधि खुवाएर र दोस्रो पटक ०७६ साउनमा कुटपिट गरेर साढे तीन महिनाको गर्भपतन गराएको आरतीको आरोप छ ।
आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौन शोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै उनले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालिन् । गिरीले पनि ०७९ मंसिर ११ मा आरतीविरुद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा हाले । पत्नीविरुद्ध उल्टै पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी दिए ।
न्यायाधीश बनेको आठ महिनापछि (०७९ फागुन १४) गिरी काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भए । आफूलाई शोषण गर्ने न्यायाधीशलाई अनुसन्धानको दायरामा नल्याएर न्यायालयको कुर्सीमा राखेको भन्दै आरतीले काठमाडौं आएर सर्वोच्च अदालत परिसर र बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरिन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगमा समेत उजुरी दिइन् । दुवै आयोगले प्रहरीलाई पत्र पठाउँदै घटनाबारे चासो राखेका थिए । कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । गिरीले माइती पक्षलाई डरधम्की देखाएर आरतीलाई मुद्दा फिर्ता गराउन दबाब दिएको आरोप छ । फिर्ता नलिने अडान लिएपछि उनले माइती पक्षको साथसमेत गुमाइन् । ‘यसपछि मेरो माइतीले न्यायाधीशसँग मुद्दा लड्न सकिँदैन, छोड्दे, छोरी मान्छेको इज्जत जान्छ, समाजमा पनि नराम्रो हुन्छ भनेर मलाई दबाब दिए, मैले मानिनँ, झन् एक्लो भएँ,’ अनशनरत उनले सुनाइन्, ‘न्यायका खातिर एक्लै लडिरहेको छु ।’
माइती पक्षको दबाबलाई आरतीले नमानेपछि गिरी आफैं लागिपरे । छलफल गर्नका लागि धेरै पटक अनुरोध गरेपछि आरतीले ०७९ चैत २७ गते सुन्धारामा भेट गरिन् । गिरीले भेटलगत्तै आरतीका कागजात र मोबाइल कब्जामा लिएका थिए ।वैवाहिक बलात्कार अभियोगमा पक्राउ गरेका गिरी भने आरती हिरासतमा रहेकै बेला कपिलवस्तु जिल्ला अदालतबाट वैशाख १७ गते २ लाख ७५ हजार रुपैयाँ र काठमाडौं जिल्ला अदालतमा पनि वैशाख १९ गते ५० हजार रुपैयाँ धरौटीमा छुटे ।
उनी धरौटीमा छुटेपछि मान्छे लगाएर ज्यान मार्ने धम्की दिँदै आएको आरतीले भनिन् । ‘म न्यायाधीश हो, मलाई कानुन लाग्दैन, होस् गर्नुहोला भनेर मेरा साथीहरूलाई पनि धम्की दिँदै आएको छ,’ उनले भनिन् ।गिरीले भने अदालतमा विचाराधीन मुद्दाका विषयमा लगाइएका आरोप गलत भएको बताए । ‘अदालतमा विचाराधीन मुद्दाका विषयमा आरतीले लगाएका आरोपहरु सरासर गलत हुन्, अदालतले निर्णय कुरिरहेको छु,’ गिरीले भने ।