काठमाडौं । गायिका सिम्रन परियारले एक सातामा १३ वटा गीत गाएकी छन् । उनले ६ दिनमा १३ वटा गीत गाएकी हुन् ।
“मैले यो पटक काठमाडौं आउँदा ६ दिनमा १३ वटा गीत गाएँ । अरु पनि थुप्रै गीतका लागि अफर आइरहेको छ,” सिम्रनले भनिन्, “तर, पढाई छुट्ने भएकाले बुधबार (आज) घर जाँदै छु ।”
सिम्रनले ‘उसलाई पाउन–२’, ‘मुटुमै घाउ छ…’, ‘ए साइँला परेलीभित्र…’, ‘पानी परेको…’ सहित १३ वटा गीत गाएकी हुन् ।
युट्युब भिडियोमा सिम्रनको गायकी मन पराएपछि सुनील बीसीले बागलुङबाट काठमाडौं बोलाएर पहिलोपटक अवसर दिएका थिए ।
सुनीलले आफ्नो शब्द तथा संगीत रहेको ‘उसलाई पाउन–२’ गाउन दिएका थिए । यसको मेल भर्सन यसअघि नै प्रमोद खरेलले गाइसकेका छन् ।
कक्षा १२ मा पढ्ने सिम्रनले स्कूलबाट फर्किँदै गर्दा बाटोमै कुराकानी गरेकी थिइन् । स्कूलको पोशाकमै गरेको कुराकानीका क्रममा उनले केही गीतहरू गुनगुनाइन् ।
उनले गीत गाउँदै गरेको भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छाउँदै गए । सिम्रनको स्वरको धेरैले प्रशंसा गरे ।
केही दिनको अन्तरालमै उनी सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । अनि काठमाडौंबाट प्रस्ताव पुग्यो, गीत रेकर्डको ।
चार दिनअघि काठमाडौं आएर एउटा गीत रेकर्ड गरिन् ।
गीतकार एवं संगीतकार सुनिल बिसीले यसअघि प्रमोद खरेलको स्वरमा आएको आफ्नो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए ।
अघिल्लो दिन रेकर्डिङ स्टुडियोमै सामान्य खर्चमा भिडियो खिचियो । अर्को दिन हतार–हतारमा युट्युबमा सार्वजनिक गरियो ।
‘बागलुङकी सिम्रन परियारको पहिलो गीत’ भनेर ल्याइएको भिडियोको थम्बनेलमा युट्युबमा अन्तवार्ता दिँदै गर्दाको फोटो प्रयोग गरियो ।
शुक्रवार सार्वजनिक उक्त गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो स्थान ओगट्यो । अहिले पनि यो गीत युट्युबमा संगीततर्फ शीर्षस्थानमा छ ।
शुक्रवार नै सिम्रनलाई संगीतकार श्रीधर अधिकारीले ‘मुटुमै घाउ छ…’ बोलको गीत गाउन दिए, उसैगरी हतार–हतारमा । अघिल्लो दिन रेकर्डिङ र भिडियो छायांकन गरिएको गीत अर्को दिन सार्वजनिक गरियो ।
शनिवार मात्रै सिम्रनले एउटा गीतको भिडियो सुटिङ गरिन् । बेलुकापख स्टुडियो पुगेर अर्को गीत गाइन् । गायक अर्जुन सापकोटाले आफ्नो गीत ‘ए ठूली’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए । यो गीत सोमवार सार्वजनिक गर्ने तयारी छ । आइतवार दिउँसो सिम्रनको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ ।
सिम्रनलाई अन्य थुप्रैले रेकर्डिङको प्रस्ताव गरिरहेका छन् । उनले केही गीत रेकर्ड गराइसकेकी छिन् ।
सिम्रनलाई रेकर्डिङका लागि मात्र होइन, लाइभ दोहोरीका लागि समेत प्रस्तावको ओइरो छ । उनी लाइभ दोहोरीमा पुगेर गाएको भिडियो समेत युट्युबमा आइसकेको छ ।
चर्चित टेलिसिरियलमा अभिनयका लागि समेत प्रस्ताव उनीकहाँ पुगिसकेको बुझिएको छ ।