गायिका सुनिता दुलालले आगामी वर्ष आफूले विवाह गर्ने बताएकी छन् । यस वर्षको तीज गीत ‘पियारी’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आफू विवाहको योजनामा रहेको उनले बताएकी हुन् । ‘विवाहका लागि सबै कुरा मिल्नुपर्यो । ढिलो होस् तर राम्रो होस् । विवाहको योजनामै छु’ उनले भनिन् ‘जे होस् २०८१ सालमा विवाह गर्छु ।’
उसो त सुनिताले यसअघि पनि आफू विवाहको तयारीमा रहेको बताउँदै आएकी थिइन् । उनले ८ वर्षअघि पनि आफू विवाह गर्ने तयारीमा रहेको बताएकी थिइन् । ३ वर्ष अगाडि पनि उनको विवाहको खबर फैलिएको थियो । त्यसबेला उनले आफ्नो विवाहको खबरले आफै ‘छक्क’ परेको बताएकी थिइन् । यद्यपि, अहिले विवाहको लागि कुरा भइरहेको समेत खुलाउँदै आगामी वर्ष विवाह गर्ने योजना रहेको बताएकी हुन् ।
विशेष गरी तीज गीतमा सुनिताको आफ्नै पहिचान रहेको छ । ‘अब त मैले नि झुम्का लगाउँछु..’बोलको उनको तीज गीत निकै रुचाइएको थियो ।
अन्य गीतमा पनि मेहनत गर्ने भए पनि तीज गीतमा अझ मेहनत गर्ने गरेको सुनिता बताउँछिन् । उनी यसवर्ष तीज विशेष कार्यक्रमका लागि झण्डै २ महिना विदेश टुरमा जाँदैछिन् । विदेशमा रहेका दिदीबहिनीहरूसँग नाच्न पाउँदा आफूले सबै कुरा बिर्सिने सुनिताले बताएकी छन् ।उनले एकल स्वरमा ल्याएको तीज गीत ‘पियारी’को भिडियोमा नीर शाहदेखि दीपाश्री निरौलासम्म प्रस्तुत छन् ।