रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरोबाट जनजीवन प्रभावित भएको छ। काठमाडौंमा विष्णुमती नदीको जल सतह बढ्दा टोखा नगरपालिकाका वडा नम्बर ९, १० डुबानमा परेको छ। गोंगबु, नयाँ बसपार्क क्षेत्र डुबानमा परेको छ।
निरन्तरको वर्षाका कारण पूर्वी भेग भएर बग्ने मनोहराले पनि जल सतह पार गरेको छ। मनोहराको बाढी पस्दा नेकपा (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ।च्यासल जोड्ने पुलबाट पानी फर्किंदा कम्पाउन्ड डुबानमा परेको एमाले उपमहासचिव बिष्णु रिमालले जानकारी दिए।
बागमती नदीको बहाव बढ्दा बल्खुस्थित तरकारी बजार पनि डुबानमा परेको छ। एक्कासि पानीको बहाव बढ्न थालेपछि बल्खु तरकारी बजारका व्यापारीले सामानसमेत उठाउन नभ्याएको बताएका छन्।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
‘काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबान क्षेत्रमा प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित प्याट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ,’ उनले भने।
भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको हो।
बाढीकै कारण काठमाडौंको सामाखुसीस्थित रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए।
हनुमन्तेलगायत खोला बढ्दा भक्तपुरको बाराहीस्थान लगायत क्षेत्र डुबानमा परेका छन्।
१८ स्थानमा भारी वर्षा
देशका विभिन्न १८ स्टेसनमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।बाँकेको कुशुममा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा २४१.२ मिलिमिटर वर्षा भएको छ।
बर्दियाको रम्भापुर क्षेत्रमा पछिल्लो २४ घन्टामा १८०.८ मिलिमिटर वर्षा मापन भएको छ। बर्दियाकै औरहीमा पछिल्लो २४ घन्टामा १८३ र स्यानो श्री चेपाङमा १४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ।चितवनको कालीखोला क्षेत्रमा पछिल्लो ६ घन्टामा ६०.६ र २४ घन्टामा १२५.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ।
दाङको गंगढी स्टेसनमा पछिल्लो २४ घन्टामा १६२.४, सिन्धुलीको मरिण कुशमटारमा २५७.८, सिन्धुलीकै माडीमा १७१.८, मकवानपुरको चिसापानीगढीमा २०२.८, बाराको अमलेखगञ्जमा २५३.८ मिलिमिटर वर्षा भएको छ।बाराकै निजगढमा पछिल्लो २४ घन्टामा १८० र मकवानपुरगढीमा १६५.४ मिलिमिटर वर्षा भएको छ।
बाराको कलैया स्टेसनमा भारी वर्षा मापन गरिएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १४४, सर्लाहीको पत्थरकोटमा १४१.८, धनुषाको तुलसीमा २९१.६, हरिहरपुरगढीमा २५६.२, सर्लाहीको कर्मैयामा १६०.६ मिलिमिटर वर्षा मापन भएको छ।
कुन ठाउमा के भयो ?
मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता
पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरूद्ध
पहिरो खसेपछि घोराही–लमही सडक अवरूद्ध
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध
कान्ति लोकपथ र मदन भण्डारी राजमार्ग अवरूद्ध
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासियो