काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउँदा सुनका गहना, मोबाइल तथा टेलिभिजन कुन मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने जानकारी दिएको छ ।
कार्यालयकाअनुसार पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । त्यस्तै, एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका सुनको गहना भन्सार विन्दुबाट महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । यसरी ल्याइने गहनाहरु आकार मात्रै दिएर बनाइएका बेरुवा औठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने पनि कार्यालयले जनाएको छ ।
त्यस्तै, विदेशबाट आउँदा नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । त्यस्तै, श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढि विदेशमा काम गरि फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा भोषणा गरि भन्सार प्रक्रिया भने पुरा गर्नुपर्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, टेलिभिजनको हकमा विदेशबाट आउनेहरुले श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेर फर्किएँदा सामाजिक सुरक्षामा सुचिकृत भएको छ भने जुन सुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ ।
तर, सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएको हकमा भने ३२ इन्चसम्मका टेलिभिजनको मात्र भन्सार नलाग्ने व्यवस्था छ । यसबाहेक श्रम स्वीकृति लिएको १२ महिना नपुगेका र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका र नभएका दुवै किसिमका यात्रुलाई भने सबै टेलिभिजन नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।