विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो आउने र रुघा लाग्ने लगायत समस्या देखिएपछि परीक्षण गराउँदा चार जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयकी प्रवक्ता सुनिता पौडेलले बताइन् । २० जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा चार जनामा कोरोना पुष्टि भएको उनको भनाइ छ । संक्रमित कर्मचारी तथ्यांक शाखामा कार्यरत रहेको बताइएको छ ।
उनीहरु भन्सार कार्यालयकै क्वाटरमा बस्दै आएका थिए । बाहिर अरुको सम्पर्कमा नगएका उनीहरुमा कहाँबाट संक्रमण सरेको हो भन्ने पुष्टि हुन नसकेको जानकारी पौडेलले दिइन् । संक्रमित चारै जना कर्मचारी अहिले ‘होम आइसोलेसन’मा बसिरहेका छन् ।
कार्यालयमा कार्यरत अरु ११ जना कर्मचारीको पनि पीसीआर परीक्षणको तयार भइरहेको भन्सार कार्यालयले जनाएको छ । कर्मचारीमा कोरोना पुष्टि भए पनि कार्यालयको काम भने सुचारु छ । आवश्यक सुरक्षा सवाधानी अपनाएर काम कारबाही सञ्चालन भइरहेको प्रवक्ता पौडेलले बताइन् ।