काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।
गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन्।
अनुमगनपछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए।
भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए।
गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुर्याउन निर्देशन पनि दिएका छन्। उनले छानविन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरि निष्कर्षमा पुर्याउन छानविन समितिलाई निर्देशन दिएका हुन्।
भन्सार जाँचका सवै प्रक्रिया पुरा गरेर करिव १ क्वीन्टल सुन भन्सार निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जो सुकै भएपनि जरैसम्म पुग्ने गरि कारवाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको जनाए।
उनले आवश्यकता परे नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागलाई सहयोग गर्ने र अहिले राजस्वको छानविन समितिलाई नै सहयोग गर्ने प्रतिवद्धता जनाए।
श्रेष्ठले बिमानस्थलको आगमनका प्रहरीको उपस्थिति नरहने भएकाले अव भने प्रहरीको उपस्थिति गराउने गरि छलफल अघि बढाउने जानकारी दिए।
उनले भ्रष्टाचार विरोधी अभियान र सुशासनको अभियानलाई दिगभ्रमित गर्ने कामबाट बिचलित नहुने दाबी गरे।
करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भन्सार कार्यालयको अनुगमन गरेका हुन्।
सुन प्रकरणपछि शुक्रबार बिहान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारसँग उनले सङ्गठित ढंगले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।
सय किलो सुन प्रकरणमा गृहमन्त्री नै यसको नाइके हो भन्ने समाचार आइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने ‘तपाईँलाई लाग्यो ? त्यस कारण यो प्रश्नै होइन् । म चाँहि चुनौति दिन्छु । यो देशको भ्रष्टाचारविरुद्धको अभियानलाई सुशासन स्थापितको अभियानलाई प्रधानमन्त्रीको निर्देशनमा हामीले व्यवहारिक नेतृत्व गरिरहेका छौं । यसमा आम जनताको सर्मथन छ । सङ्गठित ढंगले यसलाई असफल पार्न सकिन्छ भन्ने नसोचे हुन्छ । कसैले नसोचे हुन्छ भ्रम पार्न सकिन्छ । हामी विचलित हुनेवालै छैन् ।’
उनले कुनैपनि हालतमा अनुसन्धान पुरा गरी दोषीलाई कारबाही गरी छाड्ने प्रतिवद्धता जनाए । आवश्यक परे राज्यका अन्य अङ्क परिचालन गरेरै भएपनि घटनाको रुटमा पुग्ने उनको दृढता छ
‘जस्तो सुकै र जो सुकै भएपनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रकृयामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ । र सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ । मैले अहिले पनि सम्बन्धित सबै अधिकारीहरूलाई त्यही रुपमा निर्देशन दिएको छु ।’ गृहमन्त्री नारायणकाजी श्रेष्ठ भनेका छन्