काठमाडौं । नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टले केही महिनाअघि नै हत्याको योजना बनाएको खुलेको छ ।वासिंटन पोस्टकाअनुसार गत अप्रिलमा नै भट्टले श्रीमतीको हत्या योजना बुनेको पाइएको छ । भट्टले आफ्नो कम्प्यूटरमा ‘श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?’ भनेर अनलाइनमा सर्च गरेको खुलेको छ ।
रिपोर्टका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका थिए, ‘श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?’
श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको बलियो प्रमाणका रुपमा उक्त कुरालाई प्रहरीले अदालतमा बुझाएको छ ।
हाल भट्ट प्रहरीको हिरासतमा रहेका छन् । तर, उनले अपराध स्वीकार गरेका छैनन् । सोमबार उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो ।
सुनुवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायाधीशले धरौटीमा छाड्न अस्वीकार गरेका छन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।
प्रहरीकाअनुसार ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न अझै सफल भइसकेको छैन ।
काभ्रे घर भएकी ममता गत ३० जुलाईबाट अमेरिकामा सम्पर्कविहिन छिन् । उनका श्रीमान्ले भने ६ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए ।नेपाली समुदायले सुरुदेखिन नै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टलाई पक्राउ गरेको हो ।