काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ।गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू १० थप गरेर रू २५ बनाएको थियो।
सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्याएको कोइरालाले बताए। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ।
महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा नष्ट’ अभियानलाई तीव्र बनाउने भएको छ। महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक बायो लार्भासिद (जैविक औषधि) छर्किने भएको छ।
काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाहले बायो लार्भासिदले लामखुट्टे र त्यसका लार्भालाई बाहेक अरुलाई हानी नगर्ने बताएका छन्। मेयर बालेनले औषधि पानीको माथिल्लो भागमा छर्किनुपर्ने जनाएका छन्।
लार्भासिदले लार्भाको पेटमा विष उत्पन्न गराइ पाचन प्रक्रिया नष्ट गर्ने बालन बताउँछन्। ‘यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ। औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकनगुनियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्।
काठमाडौं महानगरले लार्भा नष्ट गर्ने अभियाका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ। उनीहरु बायो लार्भिसाइडसहित हरेक वडामा जानेछन्। पानी जमेको ठाउँ खोज्नेछन्। त्यहाँ लार्भिसाइड छर्किनेछन्।बर्खायाम सुरु भएसँगै डेंगी रोग नियन्त्रणका लागि वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ। अहिले नियमित रुपमा हरेक हप्ताको बुधबार विहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ।