काठमाडौं : तस्करीको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको छ। सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थपेर सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने जानकारी दिए।
‘नेपाल सरकारले सुनको प्रक्रिया अघि बढाउँछ। प्रक्रिया पुगेपछि हामीले अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशतले थपेर यो सुन किन्छौं,’उनले भने।
सुन गालिएसँगै अब गुणस्तर परीक्षण हुने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ । मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो ।
महाशाखाका निर्देशक आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको बताए।
उनले गालिएको सुनलाई ३४ वटा विस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको बताए। साउन ३ गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।
हाल सुन तस्करी प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा विदेशीसहित १६ बढी व्यक्ति पक्राउ परिसकेका छन्।