नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने बताए ।
‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो । उहाँले बिनाशर्त राजीनामा गर्नुपर्छ,’ उनले भने, ‘सभामुखमार्फत म दोहोर्याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु ।’
आफूलाई पक्राउ गरेका विषयमा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्ने उनको भनाइ थियो ।
आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरे ।
उनले यसअघि पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा सिआइबीले पक्राउ गरी अदालतको आदेशपछि रिहा गरेको थियो ।