सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ ।पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएका छन् । ब्यारेजमा ५६ ढोका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभू ढकालका अनुसार ब्यारेजका ५६ वटै ढोका खोलिएको छन् । ‘सबै ढोका खोलिएको छ,’ उनले भने, ‘अहिलेसम्म सबैतिर सुरक्षित अवस्था नै छ । पहाडतिर पानी निरन्तर परिरह्यो भने अवस्था झनै खतनाक हुनसक्छ । अहिले सुनसरीको पहाडी ईलाकामा पानी रोकिएको जानकारीमा आएको छ ।’
रातिको तुलनामा पानीको बहाब अहिले अलि कम भएको छ । उनका अनुसार पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको छ । उनले यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएको बताए ।पानीको बहाब उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । ठूला सवारीसाधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको उनले बताए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतवार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो ।बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, २ गाडी र ३ विद्युत् पोल बगाएको बताएको बताए ।
‘कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन,’ उनले भने, ‘बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।’
मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ ।प्रमुख जिल्ला अधिकारी (सीडीओ) अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हँुदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।
विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । २ दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।