काठमाडौँ । बैंशाखदेखि सिमेन्टको भाउ बोरामा २५ रुपैयाँले बढ्ने भएको छ । सिमेन्ट कम्पनीहरुको घाटा चुलिदै गएपछि उद्योगीलाई सिमेन्टको मूल्य बढाउनुको बिकल्प नभएको हो । नयाँ वर्ष २०८० सँगै सिमेन्टको मूल्य बढाउने तयारी उद्योगीहरुले गरेका हुन् ।
उद्योगीहरुले सिमेन्टको भाउ बढाउनुलाई रहर नभएर बाध्यता भएको बताएका छन् । उद्योगहरुले हाललाई अन्य विकल्प नदेखिएको जनाएका छन् । सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ र क्लिङ्कर प्रतिटन १००० का दरले बढाउने निर्णय भएको सिमेन्ट उत्पादक संघका एक सदस्यले बताए । ‘सिमेन्ट कम्पनीहरुको घाटा चुलिदै गएपछि उद्योगीलाई सिमेन्टको मूल्य बढाउनुको बिकल्प नभएको हो,’ ती सदस्यले भने । अहिले विभिन्न ब्राण्डका ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रति बोरा ६५०–६७५ रुपैयाँ हाराहारी छ ।
आर्थिक शिथिलता आएसँगै निजी घर बनाउनेदेखि भौतिक निर्माणका कामहरु कम हुँदै आएका छन् । सिमेन्ट कारोबार शिथिल भएसँगै सिमेन्ट कम्पनीको नाफामा उच्च गिरावट आएको छ । कच्चा पदार्थ (कोइलालगायत), इन्धन, ढुवानी खर्चदेखि बैंकको ब्याजदर महँगो भएकाले सिमेन्ट कम्पनीहरु घाटामा गएका छन् ।
एक वर्ष पहिले ७–८ प्रतिशतमा ऋण पाउने अवस्था थियो भने अहिले १२–१५ प्रतिशत तिर्नुपर्ने अवस्था छ । यसले पनि सिमेन्ट कम्पनीहरुलाई असर परिरहेको छ । एकातिर बैंकिङ प्रणालीमा तरलता अभाव भएको छ । उद्योगीहरुले सजिलैसँग ऋण पाउने अवस्था छैन, यही कारण निजी निर्माण प्रभावित भएको छ । अर्कोतिर सरकारले विकास खर्च कम गरेका कारण सार्वजनिक निर्माण पनि प्रभावित भएको छ ।