काठमाडौं: रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।
समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो ।उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो ।
वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा
त्रिशूली, ३० चैत (रासस) :
नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गर्नुभएको छ । उहाँले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराउनुभएको हो ।
वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिनुभयो । बिमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिनुभएको छ ।
बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ । चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताउनुभयो । वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उहाँले मासिक रु २६ हजार छ सय ७० पाउँदै आउनुभएको छ । सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताउनुभयो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।