काठमाडौं– ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय त्रसित बनेका छन्। गएराति उक्त अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयले ज्यान जोगाउन भागाभाग गरेका थिए।
नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घरसमेत भासिन पुगेको स्थानीयको गुनासो छ। उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन्।
सो निर्माणधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरु भासिएका छन्। डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको भनाइ छ। गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शनिबार बिहान सो भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन्।
सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरे। त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाइ थियो।
अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइतेसमेत भएका छन्। उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन्। सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन्। उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ।