काठमाडौँ : टायर पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान २६ घण्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुगेको छ ।
दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक दिनका लागि दुइटा टायर सापटी दिएपछि निगमको नाईन एन–अल्फा लिमा जुलु रजिष्ट्रेशन नम्बर भएको वाइडबडी काठमाडौं फर्किएको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताए ।
वाइडबडीको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चारवटा टायरको संयुक्त व्हिल–एसेम्ब्लीमा पन्चर भएका दुइटा टायर कतार एयरवेजसँग दैनिक भाडा तिर्ने सर्तमा सापटी मागिएको हो । मागेका टायर शुक्रबारै काठमाडौंमा फेरेर शनिबार निगमको दिल्ली उडानमा कतार एयरवेजलाई फर्काइने निगमका एक प्राविधिकले बताए ।
आरए२१८डी उडान नम्बरमा काठमाडौं फर्किएको निगमको वाइडबडीमा बिहीबार २ सय ५१ यात्रु काठमाडौं आउँदै थिए । राति अबेरसम्म टायर फेर्न नसकिएपछि ती यात्रुलाई निगमकै खर्चमा दिल्लीमा होटलमा राखिएको थियो ।
‘होटलमा बस्नेलाई होटलमा, नजिकै घर भएकालाई ट्याक्सी खर्च दिएर पठाइन्छ । कति होटलमा बसेका थिए । कति घर गएर आज फर्के एकिन संख्या दिल्ली स्टेशनले पठाइसकेको छैन । टायरको दैनिक भाडादरको हिसाब पनि निगमको प्रधान कार्यालयमा आइसकेको छैन,’ सहप्रवक्ता घिमिरेले भने, ‘शुक्रबार जम्मा २ सय ३० जना यात्रु बोकेर जहाज फर्कियो ।’