काठमाडौं । कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ। ४७ वर्षीय पछेराको आज (बिहीवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीजनाएको छ ।
अस्पताल अनुसार आज बिहान ११ बजे उनलाई विषादी पदार्थ सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। अहिले उनको पोस्टमार्टम गर्ने तयारी भैरहेको अस्पताल प्रशासनले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न बाँकी छ।
यो पनि हेर्नुहोस
परालको आगो’का निर्देशक प्रताप सुब्बाको निधन
मौलिक नेपाली फिल्मका प्रणेता मानिने निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको अस्पतालमा उपचारको क्रममा बिहीबार विहान ७५ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।
दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बाले ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता फिल्मको निर्देशन गरेका छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो । ४० को दशकमा नेपाल आएका सुब्बा केही फिल्म र टेलिफिल्म बनाएर ५० को दशकमा दार्जिलिङ फर्किए । त्यसपछि उनले फिल्म निर्माण तथा निर्देशन गरेका छैनन् ।
अघिल्लो वर्ष नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौंथो संस्करणमा फिल्म निर्माण तथा निर्देशनको अनुभव साट्न नेपाल आउने क्रममा उनले अहिले नेपाली फिल्महरुमा अस्वस्थ प्रतिस्पर्धा रहेको गुनासो व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘पहिले फिल्महरुबीच स्वस्थ प्रतिस्पर्धा थियो । अचेल फिल्ममा अस्वस्थ प्रतिस्पर्धा छ। अनावश्यक राजनीतिक हस्तक्षेप हुन थालेका छन् ।’
निर्देशक प्रकाश सायमीका अनुसार, प्रताप सुब्बाले ‘परालको आगो’भन्दा अघि ‘सपना कतिपय’ फिल्मको काम सुरु गरेका थिए । तर, त्यो फिल्म बन्दा बन्दै रिल जलेर नष्ट भएपछि सुब्बाले गुरुप्रसाद मैनालीको कथामा ‘परालको आगो’ निर्देशन गरेको सायमीले बताएका छन् । उनी प्रताप सुब्बालाई नेपाली फिल्म क्षेत्रले पाएको विएस थापा र प्रकाश थापापछिको महत्त्वपूर्ण निर्देशक मान्छन् ।