केही वर्षअघि विना श्रेष्ठ र शिव श्रेष्ठका छोरासँग आरतीको बिहे भयो। उनका लागि बिहे गरेर आएको घर नै एउटा संसार बन्यो। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको थाह पाए ।
अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो। परिवारमा अन्धकार छायो। छोराको मृत्यु भएपछि बुहारीलाई एक्लो महसुस नहोस भनेर आहिले सासु ससुराले बुहारी आरतीको चन्दनध्वजसंग बिवाह गरिदिए ।
कसरि बस्यो प्रेम ?
आरतीसँग फेसबुकमार्फत चन्दनध्वज केसीको चिनजान भयो । यो चिनजानपछि काठमाडौंमा भेट भएको थियो। ससुरा शिव बिरामी हुँदा उपचारका लागि उनलाई लिएर आरती काठमाडौं गएकी थिइन्। त्यही क्रममा अस्पतालमा चन्दनध्वजसँग भेट भएको थियो।
चन्दनध्वजले उपचारको क्रममा धेरै मद्दत गरे। उनको व्यवहारबाट आरती प्रभावित भइन्। उनीहरूको हृदयमा अदृयरूपमा आपसी मायाका मुनाहरू अंकुराउन थाले। एक दिन चन्दनध्वजले प्रेम प्रस्ताव राखे। आरतीले आफ्नो सबै वास्तविक अवस्थाबारे बताइन्।
उक्त क्षण सम्झँदै उनले भने ‘आरतीले कुनै कुरा नलुकाई आफ्नो विगत बताइन्। मलाई उनीप्रति असाध्यै माया र भरोसा भयो। मैले नै बिहेको प्रस्ताव गरेँ।
आरती बिहे गर्न तयार थिइनन् तर चन्दनध्वजले हार मानेन्। उनी आरतीको घरमै गए, शिव र विनालाई भटेर आफ्नो प्रस्ताव सुनाए।
शिवलाई कुरा उचित लाग्यो। उनले आरतीलाई सम्झाई–बुझाई गरेर बिहेका लागि राजी गराए। ‘आरतीले त अर्को बिहे गर्न मानेकी थिइनन्। तपाईंहरूलाई छोडेर जान्नँ भन्थिन्,’ शिवले भने, ‘उनको उमेर कलिलै छ। हामीले नै सम्झाई–बुझाई गरेर दोस्रो बिहे गर्न मनाएका हौँ।’
आरतीले आफू सदाको लागि तुलसीपुरमा बुबाआमा (सासूससुरा) सँगै बस्ने वचन दिएकी छन्। ‘आज त म बिहे गरेर श्रीमानको घरमा जानैपर्छ,’ उनले भनिन्, ‘म दुई चार दिनमै तुलसीपुर फर्किए बुबाआमासँगै बस्नेछु।’ नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ बाट आरतीका बुबाआमा छोरीको बिहेमा आएका थिए।
आमा ५५ हुममाया श्रेष्ठले शिव श्रेष्ठको जस्तो असल परिवार बिरलै भेटिने बताइन्। ‘मैले आरतीलाई जन्ममात्रै दिएकी हुँ। संसारमा यस्तै अरू मानिस पनि भए कोही छोरीबुहारीले दुःख पाउनुपर्ने छैन,’ उनले भनिन्, ‘ज्वाइँको मृत्यु हुँदा छोरी अभागी रहिछे, दुःख पाउने भई भन्ने चिन्ताले सताएको थियो।
आज यो बिहेमा आइपुग्दा मेरी छोरी जति भाग्यमानी कोही छैन जस्तो लागेको छ।’ बेहुला चन्दनध्वजका बुबा ६१ वर्षीय उत्तमध्वजले आफूहरूले खुसीसाथ आरतीसँग छोराको बिहे गरिदिएको बताए। ‘विधवा हुनुमा महिलाको के दोष हुन्छ र,’ उनले भने, ‘अहिलेको जमानाम पश्चगामी सोच पाल्नु सही होइन।’
बिहेमा भेटिएकी महिला अधिकारकर्मी सुष्मा गिरीले आफू अहिलेसम्म सयौँ बिहेमा सहभागी भए पनि आज सबैभन्दा धेरै खुसीको अनुभूति गर्न पाएको बताइन्। ‘विधवा देख्दा शुभ हुँदैन, अलच्छिन हुन्छ भन्ने पुरातन सोचबाट समाज मुक्त हुन जरुरी छ,’ उनले भनिन्,।
‘विधवा हुनुमा महिलाको कुनै दोष हुँदैन। समाजमा शिव र विना जस्ता असल मानिसहरूको संख्या बढ्दै जान जरुरी छ।’ तुलसीपुर उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ आफूले यति सकारात्मक र उदाहरणीय कार्य पहिलो पटक देखेको बताइन्।